Loading...

पाँचथरमा रहेको बेहुली ढुँगाको कथा


रबि गा.वि.स.को एक चर्चा गर्न योग्य र एक पर्यटकीय स्थलको नाम हो बेहुली ढुङ्गा । यो रबि बजारदेखि उत्तर दिशामा अवस्थित महाभारा पर्वत श्रृङ्खलाको २२०० मीटरमा पर्दछ । यसको बारेमा एउटा लोककथा यस्तो छ, जसलाई शिवकुमार श्रेष्ठले संकलन गरेका छन् । जुन यसप्रकार छ ।
उहिले पाँचथर जिल्लामा जन्ती जाने जन्तहरु बेहुलीको घरबाट उनलाई डोलीमा बोकाई बेहुलाको घर तर्फ गई रहेका थिए । जन्तहरु पाँचथर जिल्लाको रबि बजारको उत्तर दिशा तर्फको डाँडामा आई पुग्दा थकाइ र भोक लाग्यो । त्यहाँ उनीहरुले डोली बिसाउन लगाएर खानपान गरे । केही समय आराम गरे । त्यसपछि उनीहरु आफ्नो बाटो तताउने सुरसार गरे । त्यसबेला जब उनीहरुले डोलेहरुले डोली उठाए । बेहुली भने डोलीमा थिइनन । यसरी बेहुली डोलीबाट बेपत्ता भए किले डोले र जन्तहरुले आश्चर्य माने । त्यसपछि उनीहरुले चारैतिर बेहुलीलाई खोजे तर कतै पनि उनलाई फेला पार्न सकेनन् । अन्तमा उनीहरु निराश भइ बेहुली बिना बेहुलालाई लिएर घर तर्फ लागे ।
यसरी बेहुलीलाई ल्याउँदा ल्याउँदै बाटैमा हराएकि र बेहुली बिना बेहुला रित्तै घर तर्फ लागेको कुरा गाउँघरमा चारैतिर ठूलो हल्लाको रुपमा फैलियो ।
एक दिन बटुवा त्यही बाटो भएर आई रहेका थिए र त्यहाँ उनीहरुले बेहुली हराएको ठाउँ यही हो भनेर पाँचथर जिल्लाको रबि बजारको उत्तर तर्फको डाँडालाई देखाए । उनीहरुले त्यस तर्फ हेर्दा साँच्चै बेहुलीको भेषभुषामा अत्यन्त राम्री तरुणी देखे । उनी दुबै हात बाँधेर वरपर गरिरहेकी थिईन र बटुवा तर्फ हेर्दै मुसुमुसु हाँस्दै थिइन । बटुवाहरुले अनुमान गर्दै भने – ‘हराएकी बेहुली यीनी हुनुपर्छ ।’
त्यसपछि उनीहरु बेहुलीलाई भेट्न त्यहाँ गए । तर उनीहरु त्यहाँ पुग्दा उनी अल्पिइन ।
फेरी केही समय पछि अरु बटुवाहरु त्यही बाटो भएर आइरहेका थिए र त्यहाँ आइपुग्दा उनीहरुले बेहुली हराएको ठाउँ यही हो भन्दै पाँचथर जिल्लाको रबि बजारको उत्तर दिशा तर्फको डाँडा देखाए । उनीहरुले त्यसतर्फ हेर्दा साँच्चै नै बेहुलीको भेषभुषामा एउटी अत्यन्त राम्री तरुनीलाई देखे । त्यस बेला भने उनी आफ्ना दुवै खुट्टा खुम्चाई त्यसलाई दुई हातले बाँधेर टुसुक्क बसेकी थिइन र घुम्टो पनि ओढेकी थिइन । त्यस बेला उनी आफ्नो मुन्टो घुमाएर बटुवाहरुतर्फ हेर्दै मुसुमुसु हाँसिरहेकी थिइन । उनीहरुले पनि अनुमान गर्दै भने – ‘हराएकी बेहुली पक्कै पनि यिनी नै हुनुपर्छ ।’
त्यसपछि उनीहरु ती बेहुलीलाई भेट्न त्यहाँ गए, तर उनीहरु त्यहाँ पुग्दा साँच्चैकी बेहुली भने थिइन । त्यहाँ बेहुली जस्तो ढुङ्गा मात्र थियो । त्यहाँ बेहुली जस्तो ढुङ्गा देखेर उनीहरु छक्क परे । त्यस बेला देखि त्यसलाई बेहुली ढुङ्गा भनियो र त्यो ढुङ्गा आज पनि पाँचथर जिल्लाको रबि बजारको उत्तर दिशातर्फको डाँडामा छँदैछ । आज पनि त्यो ढुङ्गा टाढाबाट हेर्दा दुबै खुट्टा खुम्चाई त्यसलाई दुबै हातले बाँधेर टुसुक्क बसिराखेकी र घुम्टो ओढेकी बेहुली जस्ती देखिन्छ ।

Loading...
Your Comment!