Loading...

वाम एकता : कती को तिकाउ होला ?


आलाप स्टुडियो २१ असोज २०७४

नेपालको वापमन्थी राजनीतिको इतिहासमा सम्झनलायक दिनका रूपमा दर्ज भएको छ । दुइटा ठूला कम्युनिस्ट पार्टीबीच एकताको अभ्यास प्रारम्भ भएको यस दिनले मुलुकको राजनीतिलाई नै नयाँ दिशा दिने संकेत गरेको छ ।
prakash-astha_1भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रबीच आगामी प्रदेश सभा र केन्द्रको चुनावमा तालमेल गर्ने सहमति बनेपछि त्यसले सिंगो नेपाली राजनीति तरंगित भएको छ । झन् त्यसमा माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईसमेत जोडिन पुगेपछि वाम पक्षधर नेता÷कार्यकर्ता अनि शुभेच्छुकहरू उत्साहित छन् ।
जति उत्साह वामपन्थी शिविरमा छ, कांग्रेसलगायत लोकतान्त्रिक, दक्षिणपन्थी शक्तिहरूचाहिँ यो गठजोडबाट केही हतास देखिएका छन् । कांग्रेसले वाम समीकरण बनेको २४ घन्टा नबित्दै ६ विभिन्न दललाई संगठित गरेर चुनावी तालमेलमा जाने अभ्यास थालेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अगुवाइमा तराई-मधेसकेन्द्रित दल, राप्रपाका अनेक घटक र संघीय समाजवादी फोरमसँग ‘लोकतान्त्रिक गठबन्धन’ सुरु भएको हो ।

200×200
वाम एकीकरणको अभ्यासले राजनीतिक सरगर्मी बढाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रीपालाको यही महिनाको अन्त्यतिर हुने भनिएको नेपाल भ्रमणसमेत रद्द भएको खबर आएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भ्रमण रद्दपछिको प्रतिक्रियामा ‘पोलिटिक टर्मोइलका कारण भ्रमण कठिन’ भएको बताएका छन् । के साँच्चै उपाध्यायले भनेजस्तै देशमा ‘पोलिटिक टर्मोइल’ (उथलपुथल) नै भएको हो त ?
छिमेक चासो
उपाध्यायको अभिव्यक्तिबाट के बुझ्न कठिन छैन भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमको असर भौगोलिक सीमा नाघेर अन्तर्राष्ट्रिय चासोको विषय भएको छ । वाम गठबन्धन प्रतिक्रियामा केही कांग्रेस नेताहरूले यसमा उत्तरी छिमेक चीनले भूमिका खेलेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनता दलका नेताहरूले पनि त्यही आरोप दोहोर्‍याएका छन् । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘रातारात वाम तालमेल र पार्टी एकता प्रयास चीनको इसारामा भएको हो ।’
वर्तमान संविधानको व्यवस्थामा आधारित रहँदा कुनै पनि दलले बहुमत नल्याउने अवस्था, स्थिरताको चाहना, कतिपय आरोपमा समेत सफाइ चाहने माओवादी अध्यक्ष र सधैं तेस्रो दलले प्रथम र दोस्रो दललाई खेलाइरहने प्रवृत्तिकै कारण वाम ध्रुवीकरण भएको मान्न सकिन्छ ।
उत्तर कोरियाली वर्तमान शासक किम जोङ उनका हजुरबा किम इल सुङ प्रतिपादित ‘जुछे’ विचार बोकेर नेपालमा राजनीति गर्ने भक्तपुरका सदावहार कम्युनिस्ट नेता नारायणमान बिजुक्छे ‘रोहित’ ले यसपटकको गठबन्धनको लागि भारतलाई जिम्मेवार ठहर्‍याए, ‘एमाले, माओवादी केन्द्र र जनशक्ति पार्टीको चुनावी तालमेल र एकता भारतकै कारण भएको हो । यी तीन दलको एकताको साँचो नयाँदिल्लीमा रहेको छ । भारत भ्रमणको क्रममा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्नेबारे भारतलाई विश्वस्त बनाउन नसक्दा वामपन्थी एकता अपरिहार्य बनेको हो ।’ बलियो वामशक्तिलाई विश्वासमा लिएर उपयोग गर्न सकिने विश्वासमा भारतले वाम एकता गराएको बिजुक्छेको दाबी छ ।
दुई वाम एक ठाम
केही साताअघि एकअर्काप्रति कटुतापूर्व टिप्पणी गर्दै आएका एमाले र माओवादी एकाएक कसरी मिले ? भरतपुर नगरपालिकाको चुनावमा माओवादीले मतपत्र च्यातेर पुन: चुनाव गराउन सफल भएको तथा संविधान संशोधनको विषयलाई लिएर दुई पार्टीको कार्यकर्ता पंक्तिसम्मै एकअर्कालाई दोषारोपण गरिरहेका थिए । तर सेप्टेम्बरको अन्त्यतिर त्यस्तो के भयो, जसले दुई वाम एक ठामको स्थिति बन्यो ?
केही साताअघि एकअर्काप्रति कटुतापूर्व टिप्पणी गर्दै आएका एमाले र माओवादी एकाएक कसरी मिले ? ध्रुवीकरणले कतै आसन्न निर्वाचन नै संकटमा पर्ने त होइन ?
डा. बाबुराम भट्टराई पनि वाम एकीकरण प्रक्रियामा सामेल छन् । तर पछिल्लो स्थानीय चुनावमा निम्छरो प्रदर्शनका कारण यो गठबन्धनमा उनको उपस्थितिको चर्चा कम छ । उसो त पछिल्लो जनमतले माओवादी स्वयं पनि खुम्चिँदै गएको देखिएकै हो, तर ऊ आकलन गरिएजस्तो कमजोर भने देखिएन । तेस्रो दलका रूपमा निर्णायक भूमिका खेल्न सक्ने हैसियतका कारण कहिले ओली फाल्ने त कहिले ‘रुखको डाली’ समात्ने काम गरे प्रचण्डले । तर अकस्मात सन्दर्भ फेरिएको छ । एमाले र माओवादी एकै ठाउँमा उभिएर पार्टी एकताको संकल्प गरिरहेका छन् ।
एमाओवादी नेता राम कार्की गत निर्वाचन परिणामलाई एकीकरण प्रक्रियाको द्योतक ठान्छन् । ‘अनेक मोर्चामा विभक्त वाम पार्टीको सीमा गत निर्वाचनले देखाइदिइसकेपछि एकीकरण उचित विकल्प थियो’ उनको मत छ, ‘सरकारमा पुगेर आफ्ना नीति कार्यान्वयन गर्नको लागि त्यो आवश्यक थियो ।’ वामपन्थी अध्येता डा. सुरेन्द्र केसीको बुझाइ भने विल्कुलै फरक छ । अहिलेको वाम गठबन्धन निर्माण हुनुमा छिमेकीको भूमिकातर्फ उनी संकेत गर्छन् । ‘नेपाल युरो÷अमेरिकी, भारत र चीनको त्रिकोणात्मक स्वार्थको रणस्थल हो । केपी ओलीको पालामा चीनसँग भएका समझदारी तोड्नकै लागि ओली सरकार भंग गरियो र त्यसको लागि रणनीतिक पात्रका रूपमा प्रचण्ड उभ्याइए’ केसीको आकलन छ, ‘अहिले तिनै प्रचण्डलाई उल्ट्याएर आफ्नो पक्षमा ल्याइएको परिघटना हो अहिलेको गठबन्धन ।’
एमाले नेता राजेन्द्रकुमार राईको तर्क पनि कार्कीसँग मिल्दोजुल्दो छ, ‘छुट्टाछुट्टै हुँदा बहुमत आउने अवस्था रहेन । हाम्रो एजेन्डा विकास र समृद्धि भएकाले अलि बढी नै त्याग गरेर माओवादीसँग एकता प्रक्रिया अघि बढायौं ।’ तर राईले माओवादी र आफ्नो पार्टीका बीचमा गम्भीर वैचारिक असहमति रहेको बताए, ‘सैद्धान्तिक कोणबाट हेर्दा दुई दलबीच ठूलो खाडल छ । एमाले नौलो जनवादी क्रान्ति सम्पन्न भइसकेर देश पुँजीवादमा प्रवेश गरेको मान्छ भने माओवादीको निष्कर्ष समाजमा अझै सामन्तवाद विद्यमान रहेको र अझै पुँजीवादी क्रान्ति गर्न बाँकी रहेको छ । त्यस अर्थमा हामी माओवादीभन्दा बाबुरामसँग बढी निकट छौं । वैचारिक प्रश्नमा उहाँको र हाम्रो दृष्टिकोण समान छ ।’
कांग्रेस नेता कल्याण गुरुङ वाम एकीकरणको कुनै लक्ष्य स्पष्ट नभएको बताउँछन् । त्यसो भन्दाभन्दै उनी भन्छन्, ‘उहाँहरूको यो समीकरण कुनै उद्देश्यका साथ गरिएको होइन, तर अहिलेको संविधानलाई खारेज गरेर साम्यवादी अधिनायकवाद निम्तिने खतरा छ ।’ गुरुङले माओवादीले एकातिर वाम समीकरणमा लागेर सत्तामा पनि टाँसिरहने ‘चरित्रहीनता’ देखाएको समेत आरोप लगाए । मंगलबारको वाम समीकरण घोषणासभामा नेताहरूका अनुहार मलिन र उदास भएको र त्यसले गम्भीर परिघटनालाई संकेत गरेको गुरुङको मत छ । गुरुङले वाम एकीकरणलाई ‘उदाउँदा युवा नेताहरूलाई रोक्ने बूढा नेताहरूको षड्यन्त्र’ का रूपमा समेत अथ्र्याए ।
कार्की, केसी, राई र गुरुङ तीनैजनाले कांग्रेसको लोकतान्त्रिक गठबन्धनलाई प्रतिक्रियात्मक बताए । गुरुङले भने, ‘लोकतान्त्रिक गठबन्धन रहरभन्दा बाध्यताको उपज हो । साम्यवादी अधिनायकवादी त्रासलाई रोक्न यसको विकल्प थिएन । भोलि त्यस्तो त्रासको अवस्था नरहेमा यो स्वत: खारेज हुन्छ।
टिकाउको चिन्ता
डा. केसीको बुझाइमा आसन्न निर्वाचनमा दुवै पक्षलाई स्वीकार्य हुने खालको परिणाम आएको खण्डमा मात्र वाम समीकरण पार्टी एकीकरणको तहमा जान्छ । त्यसो भएन भने अहिलेको समग्र प्रक्रिया नै अवरुद्ध हुन्छ । ‘साम, दामसमेत प्रयोग गरेर अहिले प्रचण्डलाई जोडाएको’ बताउने केसी भन्छन्, ‘अब चितवनका देवी ज्ञवालीले प्रचण्डलाई भोट हाल्नुपर्ने अत्यन्त कठिन अवस्था आइपर्‍यो । देशका अन्य भागमा समेत यसको प्रभाव छ । त्यस्तो अवस्थामा एमाले-माओवादीले एकअर्कालाई भोट हालेनन् भने अवस्था दोषारोपणमा पुग्नेछ र यो प्रक्रिया नै अवरुद्ध हुनेछ ।’
बेग्लाबेग्लै विरासतबाट आएका फरक दलहरूलाई टिकाउन असहज हुने बुझाइ माओवादी नेता कार्कीको समेत छ । ‘पार्टीहरूभित्र व्यक्तिगत र गुटगत स्वार्थको विकास भएको छ । त्यसले वैचारिक छलफललाई ‘साइड’ मा पार्ने चिन्ता छ’, कार्की भन्छन्, ‘तर हामीले पहिले एकता गरेर वैचारिक आधार खोज्ने प्रयास गरेका छौं । सत्ता स्वार्थ छोडेर विचारलाई एकताको आधार बनाउन सकियो भने एकता प्रक्रिया सहज अघि बढ्छ र दिगो हुन्छ ।’ कार्कीले वाम एकताको विषय आफैंमा ‘गाह्रो’ भन्दै आफूहरूले गाह्रो कुरा नै आँटेको बताए । उनका अनुसार एमालेसँग जनयुद्ध कति जायज थियो भन्नेमा ‘रिजर्भेसन’ छ र माओवादीमा एमालेले चालेका हिजोका कतिपय कदमप्रति ‘रिजर्भेसन’ छ । तर एमालेको कार्यकुशलता र माओवादीको क्रान्तिकारिता र जुझारूपना एकअर्काले सिकेमा वा मिसाउन सकेमा आगामी एकीकृत पार्टी झनै दरिलो भएर जाने उनको विश्वास छ ।
एमाले नेता राईले दुई पार्टीमा रहेका गम्भीर राजनीतिक असहमतिको विषयले एकीकरण प्रक्रिया टिक्ने या नटिक्ने बताए । ‘वैचारिक प्रश्नमा एमाले सही छ र त्यसमा माओवादी मिसिएमा एकीकरण प्रक्रिया सहज हुन्छ र टिक्छ । तर वैचारिक मतान्तर कायम रहेको अवस्थामा एमाले र माओवादी दुवैतर्फका साथीहरूले एकीकरण प्रक्रियालाई असहयोग गर्ने या निस्क्रिय बस्ने अवस्था आउन सक्छ र एकीकरण असहज हुन्छ ।’ नाम कम्युनिस्ट भए पनि माओवादी र एमालेको वैचारिक धार अलग भएको र केवल सत्ता स्वार्थका कारण यी दुई मिलेकाले अहिलेको समीकरण धेरै नटिक्ने गुरुङको भनाइ छ, ‘स्वार्थको लागि बनेको समीकरण स्वार्थपूर्ति भएसँगै ढल्छ ।
एकतामा आशंका
राष्ट्रिय सभामा मंगलबार बजेको चर्को तालीलाई संकेत मान्ने हो भने वाम एकीकरणले एउटा आकार लिने सम्भावना छ तर एकीकरण प्रक्रिया सुरु भएसँगै त्यसमाथि आशंका पनि गरिएका छन् । एमाले नेता प्रदिप नेपालले त फेसबुकमा सीधै लेखिदिए, ‘नआत्तिनुस्, अहिलेको एकता सूर्य चिन्ह अर्थात् चुनावको लागि हो । पार्टी एकता हुँदैन । चुनावी एकता प्राकृतिक हो । यस्तो काम हामीले २०४८ सालको संसदीय चुनावमा पनि गरेका थियौं ।’
यहाँनिर डा. सुरेन्द्र केसीको विचारलाई समेत भिडाएर हेर्ने हो भने तत्कालको स्वार्थको लागि मात्रै यो एकता भएको त होइन भन्ने तर्क बलियो ठहरिन्छ । केसीले चुनावमा भनेजस्तो परिणाम आएमा मात्र अहिलेको प्रक्रिया सहज रूपमा अघि बढ्ने बताएका छन् । दुईबीच विचारमा ठूलो अन्तर रहेकाले एकीकरण असहज हुने, माओवादीको विचारसँग ठूलो हैसियतको एमाले सहमत हुन नसक्ने र सोही कारण एमाओवादीले वैचारिक रूपान्तरण गरेमा मात्र एकीकरण सहज हुने राईको तर्कले पनि एकता प्रक्रिया ढुंगो चपाउनुजत्तिकै असहज छ भन्ने प्रस्ट बुझिन्छ ।
ध्रुवीकरण बढ्दो जोखिम
लोकतान्त्रिक गठबन्धनबाटै तत्कालै अर्को सरकार गठन गर्न सकिने अवस्था देखिएकोमा राजपा र समाजवादी फोरमबीच चुनावी तालमेलको घोषणा भएको छ । यसले कांग्रेसलाई नै अप्ठ्यारोमा पार्ने त होइन भन्ने प्रश्न पनि उठेको छ । प्रधानमन्त्री यो स्थितिमा सत्ता छोड्ने या माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरेर नयाँ सरकार बनाउने भन्नेमा छलफलमा रहेका देखिन्छन् । त्यसमाथि ससाना दलको धार्नी पुर्‍याउन उनलाई कठिन हुने त देखिएको छ नै, त्यसमाथि साना दलका ठूलाठूला माग धान्न उनलाई उत्तिकै सकस हुने देखिन्छ । दुई प्रमुख शक्तिबीच भएको ध्रु्रवीकरणले कतै आसन्न निर्वाचन नै संकटमा पर्ने त होइन ?
कटवाल प्रकरण, लडाकु भ्रष्टाचार र पछिल्लोपटक प्रधानन्यायाधीश प्रकरणमा मुछिएका माओवादी अध्यक्ष दाहाललाई पछिल्लोपटक आफ्नै कार्यकर्ताले पहिचानको मुद्दा छोडेको आरोप लगाएका थिए । ‘एमालेमै मिसिनु थियो भने १७ हजारको ज्यान जाने युद्ध किन गरियो ? , पहिचानवादी एमाओवादी पहिचानविरोधी एमालेसँग कसरी मिल्नछ सक्छ ? ’ जस्ता भन्ने प्रश्न पनि प्रचण्डलाई कार्यकर्ताले सामाजिक सञ्जालमार्फत सोधिरहेका छन् । गोपाल किराँती र मणि थापालगायतका दोस्रो तहका माओवादी नेताको पार्टी एकीकरणप्रति गम्भीर असहमति त्यसकै कडी हो । महरा र वर्षमान पुनको पनि यो एकीकरणमा असहमति रहेको चर्चा पनि सुनिएकै हो ।
वर्तमान संविधानको व्यवस्थामा आधारित रहँदा कुनै पनि दलले बहुमत नल्याउने अवस्था, स्थिरताको चाहना, कतिपय आरोपमा समेत सफाइ चाहने माओवादी अध्यक्ष र सधैं तेस्रो दलले प्रथम र दोस्रो दललाई खेलाइरहने प्रवृत्तिकै कारण वाम ध्रुवीकरण भएको मान्न सकिन्छ । राई र कार्कीले भनेजस्तै एकीकरणको मूल मुद्दा विचार बनाएर अघि बढेमा वाम एकीकरणले मूर्तरूप लेला तर सत्ता र शक्ति प्राप्तिको लागि यसलाई लिइए फेरि पनि हिजो प्रचण्ड, बाबुराम, वैद्य र चन्दहरू झैं फेरि पनि आगामी एकीकृत वाम दल विभक्त हुनेछ ।

Loading...
Your Comment!